काठमाडौं । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत नेपालमा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा एक जापानी नागरिकलाई नियन्त्रणमा लिएको छ।
विभागका अनुसार ती जापानी नागरिक सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल आएका थिए । तर, नेपालमा आवश्यक अनुमति नलिई लामो समयदेखि गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गरेको तथा राज्यलाई बुझाउनुपर्ने करसमेत नतिरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाली महिलासँग विवाह गरेका ती नागरिक नेपाली भाषा धाराप्रवाह बोल्ने बताइएको छ। उनले पिस अफ माइन्ड रेष्टुरेन्ट क्याफे नामक व्यवसाय पोखराको पुम्दीभुम्दी क्षेत्रमा दर्ता गरी सञ्चालन गरेका थिए।
यसबाहेक सम्बन्धित सरकारी प्रक्रिया पूरा नगरी पछिल्लो चार वर्षदेखि ललितपुरको झम्सिखेल क्षेत्रमा अर्को कफी सपसमेत सञ्चालन गर्दै आएको विभागले जनाएको छ। उक्त कफी सप भने दर्ताविनै सञ्चालन भइरहेको पाइएको छ।
नेपालको कानुनी व्यवस्था अनुसार पर्यटक भिसामा रहेका विदेशी नागरिकले व्यवसाय सञ्चालन गर्न पाउँदैनन्। व्यवसाय गर्न विदेशी लगानी स्वीकृतिसहित व्यावसायिक भिसा तथा रोजगारीमा संलग्न हुन ‘वर्किङ भिसा’ अनिवार्य हुन्छ।
अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने तथा आवश्यकताअनुसार निष्कासन गरेर पुनः नेपाल प्रवेशमा रोक लगाउन सकिने कानुनी प्रावधान रहेको जनाएको छ।
विभागले नियन्त्रणमा लिइएका जापानी नागरिकमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। यद्यपि, विभागले उनको नाम भने सार्वजनिक गरेको छैन।