Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यागमन विभागको स्पष्टोक्ति- वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात चाहिँदैन

अध्यागमन विभागको स्पष्टोक्ति- वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात चाहिँदैन

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा अनावश्यक थप कागजात तथा बिलररसिद पेस गर्न नपर्ने स्पष्ट पारेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विभागले वैदेशिक रोजगार विभागको अघिल्लो सूचनापछि देखिएको अन्योलप्रति ध्यानाकर्षण भएको जनाएको हो । श्रमिकसँग विमानस्थलस्थित अध्यागमन कार्यालयमा अतिरिक्त कागजात मागिएको भन्ने विषय सार्वजनिक भएपछि विभागले यस्तो स्पष्टोक्ति दिएको हो ।

अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रचलित अध्यागमन कानुनअनुसार प्रक्रिया स्पष्ट गरेको हो ।

विभागका अनुसार नेपाल सरकार, २०८२ कात्तिक १३ गतेको गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा प्रचलित अध्यागमन कानुनबमोजिम वैध भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित देशको भिसा भए पुग्ने व्यवस्था छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानीजस्ता न्यूनतम आवश्यक कागजात पर्याप्त हुने विभागले जनाएको छ । यसबाहेक अध्यागमन कार्यालयमा थप कागजात वा बिलररसिद पेस गर्न नपर्ने स्पष्ट पारिएको छ ।

विभागले अनावश्यक कागजात माग्ने वा सेवाग्राहीलाई झन्झट हुने अवस्था सिर्जना नगर्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

'विदेश यात्रा गर्ने नेपाली नागरिक कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुक र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न सक्नेछन्,' विभागले भनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077