धनगढी । कैलाली प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा खटिएको अपरेशन टोलीले गोदावरी नगरपालिका–२, अत्तरिया बजारस्थित नमस्ते अन्नपूर्ण होटलमा शुक्रबार साँझ विशेष अपरेशन सञ्चालन गरेको थियो ।
विशेष सूचनाका आधारमा गरिएको खोजतलासमा साढे ७ किलो चरेस तथा एक वटा डिजिटल तराजुसहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका-७ का बमबहादुर धामी, ५ बस्ने जनक जाग्री, सुर्मा गाउँपालिका-३ का अमृत बोहरा र दार्चुलाको महाकाली नगरपालिका-२ का रूपसिंह सितोली रहेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी चन्दका अनुसार होटलभित्र चरेसको कारोबार भइरहेको सूचनापछि प्रहरीले चारै जनालाई होटलमै नियन्त्रणमा लिएको हो ।
बरामद लागुऔषध र उपकरणसहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।