कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–२ चवन्नी खल्ला बस्ने १८ वर्षीय निशान्त राना रहेका छन् ।
मंगलबार अपराह्न करिब ४ बजे, जिल्ला कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ चवन्नी खल्लास्थित आउट अफ जोन रिसोर्ट नजिक लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडी र लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, कञ्चनपुरको संयुक्त टोली ले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक जय पार्की र लागुऔषध नियन्त्रण ब्युरोका बरिष्ठ नायब निरीक्षक केशब जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका रानालाई नियन्त्रणमा लिई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा रानाले लगाएको ज्याकेटको दाहिने खल्तीभित्र लुकाई छिपाई राखेको सेतो प्लाष्टिकभित्र खैरो हिरोइन जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधको तौल प्लाष्टिकसहित २४ ग्राम ८०० मिलिग्राम र शुद्ध तौल २१ ग्राम १३० मिलिग्राम रहेको छ।
पक्राउ परेका रानालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको कञ्चनपुर प्रहरीले जनाएको छ।