एजेन्सी । होर्मुज जलमार्गमा कार्गो पानीजहाजमाथि ड्रोन आक्रमण भएपछि अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ।
घटनालगत्तै अमेरिकी सेनाले इरानका मिसाइल, ड्रोन भण्डारण केन्द्र तथा तटीय राडार प्रणालीलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्धविरामको 'मूर्खतापूर्ण उल्लंघन' गरेको आरोप लगाउँदै कडा प्रतिक्रिया दिएका थिए। त्यसको केही घण्टापछि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानी सैन्य पूर्वाधारमाथि आक्रमण गरिएको पुष्टि गरेको हो।
बिहीबार होर्मुज जलमार्गमा सिङ्गापुरको झण्डावाहक कार्गो जहाज ‘एभर लभ्ली’ माथि ‘वान–वे अट्याक ड्रोन’बाट आक्रमण भएको थियो। घटनामा कुनै मानवीय क्षति नभए पनि विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एकमा सुरक्षा चुनौती थपिएको छ।
सेन्टकमले जारी गरेको विज्ञप्तिमा व्यापारिक पानीजहाजमाथिको आक्रमणलाई अन्तर्राष्ट्रिय जलयात्राको स्वतन्त्रतामाथिको आक्रमण भन्दै त्यसको 'शक्तिशाली जवाफ' दिइएको उल्लेख गरेको छ।
साथै, होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूको सुरक्षाका लागि अमेरिकी सेनाले आवश्यक समन्वय जारी राख्ने जनाएको छ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसको दोष अमेरिका र इजरायलमाथि लगाएको छ।
आईआरजीसीले युद्धविराम उल्लंघन गर्दै इरानमाथि हवाई आक्रमण गरिएको दाबी गर्दै यस्ता गतिविधि दोहोरिए अझ व्यापक जवाफ दिने चेतावनी दिएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समार्फत इरानले असहमति भए वार्ताको बाटो रोज्नुपर्ने उल्लेख गर्दै हिंसाको जवाफ हिंसाबाटै दिइने चेतावनी दिएका छन्।
उता, इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले अमेरिकाले वार्ताकै बीचमा फेरि आक्रमण गरेर समझदारीको उल्लंघन गरेको आरोप लगाएका छन्।
होर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मार्गमध्ये एक हो। यहाँबाट विश्वको ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास ढुवानी हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले पनि सुरक्षा अवस्था बिग्रिएपछि यस क्षेत्रमा फसेका ११ हजारभन्दा बढी नाविकलाई उद्धार गर्ने तयारी हालका लागि स्थगित गरेको जनाएको छ।्