काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह र कांग्रेस सभापति गगनकुमार थापाको निवासअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले उक्त घटनालाई स्वतन्त्र प्रेस र प्रतिपक्षमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने अधिनायकवादी प्रवृत्तिको संकेत भएको आरोप लगाए ।
सोमबार कांग्रेस सभापति गगन थापाको निवास, कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन तथा भाटभटेनी सुपरमार्केटअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका थिए। यस घटनाले सरकार आलोचनात्मक आवाजप्रति असहिष्णु बन्दै गएको आङ्देम्बेको टिप्पणी छ।
‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो। तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्तालाई नै निशाना बनाउन खोज्छ। के सरकारले अब आलोचनात्मक आवाज नै बन्द गर्न खोजेको हो ?’ उनले लेखेका छन्।
आङ्देम्बेले गेटअगाडि गाडी तेर्स्याउनु सामान्य पार्किङको विषय नभई विपक्षी नेतृत्व र स्वतन्त्र सञ्चारमाध्यमलाई तर्साउने प्रयास भएको दाबी गरेका छन्।
‘यो घटना स्वतन्त्र प्रेस र प्रतिपक्षलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्यौँ भने परिणाम भोग्नुपर्छ’ भन्ने सन्देश दिन खोजिएको जस्तो देखिन्छ,’ उनले उल्लेख गरेका छन्।
उनले सहकारी पीडित, मिटरब्याज पीडित, बेरोजगारी र सुकुम्बासी समस्या जस्ता गम्भीर जनसरोकारका विषयमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोपसमेत लगाए।
सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभई लोकतान्त्रिक शासन प्रणालीका जवाफदेहिता सुनिश्चित गर्ने ऐना भएको उल्लेख गर्दै आङ्देम्बेले इतिहासले स्वतन्त्र आवाज दबाउन खोज्ने शासकहरूको अन्त्य राम्रो नभएको स्मरण गराए।
‘भ्रम पनि नरहोस्—गेटअगाडि गाडी राखेर स्वतन्त्र आवाज रोक्न सकिन्छ भनेर। गाडीले गेट त छेक्न सकिएला, तर जनआवाज र प्रश्नको बाटो छेक्न सकिँदैन। ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन,’ उनले चेतावनी दिँदै भनेका छन् ।