Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुकुम्बासी बस्ती हटाउने सरकारको कदम ‘निर्मम र दमनकारी’ : भीष्मराज आङ्देम्बे

सुकुम्बासी बस्ती हटाउने सरकारको कदम ‘निर्मम र दमनकारी’ : भीष्मराज आङ्देम्बे

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्ती हटाउने सरकारी कदमप्रति कडा आपत्ति जनाउँदै तत्काल रोक्न माग गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनले सरकार आफ्नै नागरिकप्रति ‘निर्मम र दमनकारी’ बनेको आरोप लगाए।

आङ्देम्बेले सुकुमबासी बस्तीमा डोजर चलाउने कार्यलाई केवल संरचना भत्काउने प्रक्रिया नभई राज्यको चरित्र उजागर गर्ने घटनाका रूपमा टिप्पणी गरे।

'के राज्य आफ्नै नागरिकसँग युद्ध लड्दैछ ?' भन्दै उनले सुकुम्बासी व्यवस्थापनको नाममा भइरहेको व्यवहारमाथि गम्भीर प्रश्न उठाए ।

उनका अनुसार वास्तविक सुकुमबासीको पहिचान नगरी सबैलाई एउटै ढंगले विस्थापित गर्नु अमानवीय र निन्दनीय हो। सुरक्षा निकाय, यहाँसम्म कि सेनासमेत परिचालन गरेर गरिएको कारबाहीले राज्यलाई संरक्षक होइन, ‘त्रासको प्रतीक’ बनाउने जोखिम रहेको उनले बताए।

आङ्देम्बेले मनोहरा र बल्खु क्षेत्रका घटनाहरू उल्लेख गर्दै बस्ती हटाउने नीतिका कारण मानवीय संकट गहिरिँदै गएको दाबी गरे। उनले आत्महत्यासम्मका घटना भएको भन्दै मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिन र प्रभावितहरूलाई व्यवस्थित पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे।

त्यस्तै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुत्केरी, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको मानवीय व्यवस्थापन गर्न र बिरामीहरूलाई निःशुल्क उपचार उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

प्रशासनमार्फत स्थानीय तहलाई बस्ती हटाउन निर्देशन दिने र सेनाबाट सुकुमबासीको लगत संकलन गराउने अभ्यासलाई उनले लोकतान्त्रिक मूल्यविपरीतको कदम भने।

'जनताले दिएको जनमतको प्रतिफल यदि यस्तै क्रूरतापूर्ण उठिबास हो भने हामी गम्भीर छौँ,' उनले चेतावनी दिँदै भने, 'यस्तो अमानवीय गतिविधि तत्काल रोकियोस्, अन्यथा यसको परिणाम गम्भीर हुनेछ।'

नेपाली कांग्रेस संसदीय दलको तर्फबाट उनले उक्त कदमको घोर भर्त्सना गर्दै सरकारलाई तुरुन्त हस्तक्षेप रोक्न आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077