Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

'दाउदले ताज होटलमा बम राखेको छ' भन्ने फोनपछि मुम्बईमा उच्च सतर्कता

'दाउदले ताज होटलमा बम राखेको छ' भन्ने फोनपछि मुम्बईमा उच्च सतर्कता

आइतवार , आषाढ २८, २०८३

एजेन्सी। भारतको मुम्बईस्थित प्रतिष्ठित ताज होटलमा बम रहेको भन्दै आएको धम्कीपूर्ण फोनपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन्। 

आइतबार मध्यराति करिब १२ः१३ बजे नवी मुम्बई प्रहरी नियन्त्रण कक्षमा एक अज्ञात व्यक्तिले फोन गर्दै ‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ’ भन्ने सूचना दिएको थियो।

सूचना प्राप्त हुनासाथ मुम्बई प्रहरी, कोलाबा प्रहरी, अपराध अनुसन्धान टोली 'क्राइम सिन इन्भेस्टिगेसन टिम' तथा बम डिस्पोजल स्क्वाड (बीडीडीएस) ताज होटलमा पुगेका थिए। त्यसपछि होटलको मुख्य लबी, रेस्टुरेन्ट, स्विमिङ पुल, पार्किङसहित सबै संवेदनशील क्षेत्रमा सघन सुरक्षा जाँच गरिएको थियो।

प्रहरीका अनुसार व्यापक खोजी अभियानका क्रममा कुनै पनि शङ्कास्पद वस्तु वा विस्फोटक पदार्थ फेला परेन। अनुसन्धानपछि उक्त सूचना झुटो 'फेक कल' भएको पुष्टि भएको छ।

प्राविधिक अनुसन्धानबाट धम्कीपूर्ण फोन नवी मुम्बईको तुर्भे क्षेत्रबाट गरिएको खुलेको प्रहरीले जनाएको छ। फोन गर्ने व्यक्तिको पहिचान भइसकेको र पक्राउका लागि खोजी जारी रहेको बताइएको छ।

यसअघि सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी हमलाका क्रममा ताज महल प्यालेस होटल प्रमुख निशानामध्ये एक बनेको थियो। समुद्री मार्गबाट मुम्बई पुगेका १० जना आतंककारीमध्ये केहीले होटलमा प्रवेश गरी अन्धाधुन्ध गोलीबारी, विस्फोट र आगजनी गरेका थिए। होटलमा रहेका पाहुना, कर्मचारी तथा सुरक्षाकर्मीहरू प्रभावित भएका थिए। करिब ६० घण्टासम्म चलेको सुरक्षा कारबाहीपछि भारतीय सुरक्षा बलले होटललाई आतंककारीको नियन्त्रणबाट मुक्त गराएको थियो।

उक्त घटनापछि ताज होटलको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ र यस्ता धम्कीलाई सुरक्षा निकायले अत्यन्त गम्भीरताका साथ लिँदै आएको छ। घटनापछि होटलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077