Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

अमेरिकाले गर्‍यो इरानमाथि हवाई आक्रमण

अमेरिकाले गर्‍यो इरानमाथि हवाई आक्रमण

आइतवार , आषाढ २८, २०८३

एजेन्सी । होर्मुज जलडमरू बन्द गर्ने इरानको घोषणापछि साइप्रसको झण्डा बोकेको एक व्यावसायिक जहाजमाथि भएको आक्रमणले मध्यपूर्वमा तनाव थप चर्किएको छ । उक्त घटनापछि अमेरिकाले इरानविरुद्ध यस साताकै तेस्रो चरणको हवाई आक्रमण गरेको हो ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज जलडमरू हुँदै गइरहेको जहाजमाथि मिसाइल आक्रमण गरेको थियो । आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको, जहाज यात्रा गर्न नसक्ने अवस्थामा पुगेको तथा चालकदलका एक सदस्य बेपत्ता भएको सेन्टकमले जनाएको छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै इरानले गलत निर्णय गरेको र त्यसको मूल्य चुकाइरहेको टिप्पणी गरेका छन्।

इरानले भने आफ्नो निगरानी प्रणाली बन्द गरी स्वीकृत समुद्री मार्ग छाडेर अघि बढेको जहाजलाई पटक–पटक चेतावनी दिँदा पनि अटेर गरेपछि चेतावनीस्वरूप मिसाइल प्रहार गरिएको दाबी गरेको छ। आईआरजीसीका अनुसार चेतावनीपछि जहाज रोकिएको थियो।

यसअघि इरानको सरकारी सञ्चारमाध्यमले अर्को सूचना जारी नभएसम्म होर्मुज जलडमरू बन्द रहने घोषणा गरेको थियो। साथै, जलडमरू पुनः खोल्न अमेरिकाले सैन्य दबाब सिर्जना गरे क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डासमेत निशानामा पारिने चेतावनी इरानले दिएको छ।

यसै साताको सुरुआतमा ओमान नजिक अमेरिकाले सिफारिस गरेको समुद्री मार्ग प्रयोग गरिरहेका तीनवटा व्यावसायिक तेल ट्यांकरमाथि पनि आक्रमण भएको थियो। त्यसपछि अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो।

इरानी अधिकारीहरूका अनुसार ती आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएका थिए। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकका सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो।

घटनाक्रमसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो कदमले युद्धविराम प्रभावहीन बनेको बताएका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिका नै सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप लगाएका छन्। यद्यपि, अमेरिकी पक्षले कूटनीतिक संवाद भने जारी रहने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077