अमेरिकाको इरानमा पुनः भीषण हवाई हमला, चाबहार र कोनारकमा विस्फोटस एक जनाको मृत्यु
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीलगत्तै अमेरिकी सेनाले बुधबार अबेर रातिदेखि इरानका विभिन्न क्षेत्रमा पुनः व्यापक हवाई आक्रमण गरेको छ ।
दक्षिणपूर्वी इरानका कोनारक, चाबहारलगायतका रणनीतिक सहरहरूमा शक्तिशाली विस्फोट सुनिएका छन् भने प्रारम्भिक विवरणअनुसार कम्तीमा एक जनाको मृत्यु भएको छ।
इरानी सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानस्थित इरानसहर विमानस्थलमा भएको हवाई आक्रमणमा एक अग्नि नियन्त्रकको ज्यान गएको छ। स्थानीय अधिकारीहरूले बुधबार राति करिब १२स्३० बजेतिर सहरभर चारवटा ठूला विस्फोट भएको पुष्टि गरेका छन्।
आक्रमणपछि इरानको महत्वपूर्ण समुद्री व्यापारिक केन्द्र मानिने चाबहार क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चाबहार फ्रि जोन अर्गनाइजेसनका प्रमुखका अनुसार सम्भावित थप क्षति रोक्न गोदाम क्षेत्रबाट सवारीसाधन हटाउने अभियान तीव्र पारिएको छ।
मध्यरातसम्म करिब ३०० सवारीसाधन सुरक्षित स्थानमा सारिएको र बाँकी करिब १०० सवारीसाधन पनि बिहानसम्म हटाइने जनाइएको छ।
यसअघि मंगलबार पनि अमेरिकी सेनाले इरानका ८० भन्दा बढी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्यमा जहाजहरूमाथि भएका आक्रमणको जवाफस्वरूप उक्त सैन्य कारबाही गरिएको जनाएको थियो।
यसैबीच, नेटो शिखर सम्मेलनका क्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरानविरुद्ध थप ठूलो सैन्य कारबाही हुने चेतावनी दिएका थिए। उनले इरानसँग द्वन्द्व अन्त्यका लागि भएको पूर्व समझदारी पनि समाप्त भएको घोषणा गरेका थिए।