एजेन्सी । विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्तै संवेदनशील मानिने हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिका र इरानबीचको तनाव पुनः चुलिएको छ ।
अमेरिकाले उक्त घटनालाई आधार बनाउँदै इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा शक्तिशाली सैन्य आक्रमण गरेको हो ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिक सवार व्यापारिक जहाजहरूलाई लक्षित गरिएको आक्रमणको जिम्मेवार इरानलाई ठहर गर्दै त्यसको 'भारी मूल्य चुकाउन' सैन्य कारबाही गरिएको जनाएको छ।
बीबीसीका अनुसार अमेरिकी आक्रमण इरानको क्युशम टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा केन्द्रित थियो। इरानी सञ्चारमाध्यमहरूले ती क्षेत्रमा शक्तिशाली विस्फोट भएको, छर्रा लागेर केही व्यक्ति घाइते भएको तर हालसम्म मानवीय क्षतिको पुष्टि नभएको बताएका छन्।
इरानका उप(परराष्ट्रमन्त्रीले अमेरिकी आक्रमणलाई गत महिना मात्रै दुई देशबीच भएको १४ बुँदे समझदारीको खुला उल्लङ्घन भएको आरोप लगाउँदै तेहरानले यसको ूनिर्णायक जवाफू दिने चेतावनी दिएका छन्। अमेरिकाले भने इरानले युद्धविरामको भावना विपरीत अन्तर्राष्ट्रिय जलयात्रामाथि आक्रमण गरेपछि प्रतिकारात्मक कदम चालिएको दाबी गरेको छ।
सैन्य कारबाहीअघि अमेरिकी अर्थ मन्त्रालयले इरानलाई दिइएको तेल निर्यातसम्बन्धी अस्थायी छुट पनि खारेज गरेको थियो। उक्त छुट जुन १७ मा सम्पन्न १४ बुँदे समझदारीअन्तर्गत इरानलाई तेल तथा पेट्रोलियम पदार्थ बिक्री गर्न दिइएको विशेष अनुमति थियो।
इरानको परराष्ट्र मन्त्रालयले वासिङ्टनको कदमलाई सम्झौताविपरीतको कार्य भन्दै यसले अमेरिकी सरकारको ूखराब नियत, अस्थिरता र अविश्वसनीयताू उजागर गरेको प्रतिक्रिया दिएको छ।
यस घटनापछि खाडी क्षेत्रका मुलुकहरूले पनि कडा प्रतिक्रिया जनाएका छन् । कतारले हर्मुज नजिक आफ्नो जहाज (अल(रेकाय्याट) माथि भएको आक्रमणको जिम्मेवारी इरानले लिनुपर्ने माग गरेको छ।
साउदी अरेबियाले पनि आफ्नो तेल ट्याङ्कर (वाड्यान) लाई निशाना बनाइएको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय समुद्री सुरक्षामाथिको गम्भीर हमला भनेको छ।
गत महिना सम्पन्न १४ बुँदे सम्झौताले अमेरिका–इरानबीचको युद्धविरामलाई निरन्तरता दिने, इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने तथा इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको कोष परिचालन गर्ने प्रतिबद्धता समेटेको थियो।
यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले केही समयका लागि हर्मुज जलमार्ग बन्द गरेको थियो।