जनकपुरधाम । दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंगलबार जनकपुरधाममा सरकारको कार्यशैलीविरुद्ध प्रदर्शन गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारको माग गरेको छ।
देशका विभिन्न स्थानबाट आएका अभियानका समर्थकहरू सहभागी र्याली जानकी मन्दिर परिसरबाट सुरु भई जनकचोक, शिवचोक र भानुचोक हुँदै नगरका प्रमुख सडकहरूको परिक्रमा गरेर शिवचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले भ्रष्टाचार नियन्त्रण, जनउत्तरदायी शासन, प्रभावकारी सार्वजनिक सेवा र प्रशासनिक सुधारको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। सम्भावित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले प्रदर्शनस्थलमा विशेष सुरक्षा व्यवस्था मिलाएको थियो।
कोणसभालाई सम्बोधन गर्दै अभियानका संयोजक प्रसाईंले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले राजनीतिक नेतृत्वका कारण प्रशासनिक संयन्त्र कमजोर बन्दै गएको दाबी गर्दै सरकारका गतिविधिमाथि नागरिकस्तरबाट निरन्तर खबरदारी आवश्यक रहेको बताए।