एजेन्सी। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको आजदेखि अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई हमला गरी मारेका इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको बल्ल अन्त्येष्टि गर्न लागिएको हो।
इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलाई ४, ५, ६, ७ र ८ मा आयोजना गरिने छ ।
उनको पार्थिव शरीर इरान र छिमेकी इराकका विभिन्न सहरमा लगिने कार्यक्रम तय गरिएको छ । अन्त्येष्टि तेहरानको ग्रान्ड मोसल्लाबाट सुरु हुनेछ । त्यहाँ शोक समारोहका कारण सडक तथा दैनिक जनजीवन प्रभावित हुने अपेक्षा गरिएको छ । दशकमै पश्चिमसँग टकराबपूर्ण नीति अपनाउँदै इरानको नेतृत्व गरेका खामेनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा शोकाकुल नागरिक सहभागी हुने सरकारी अधिकारीहरूले जनाएका छन् ।
त्यसपछि खामेनीको शव जुलाई ९ मा मसहद सहरमा गाडिनेछ।
खामेनीको अन्त्येष्टिअघि इरानविरुद्ध अमेरिका, इजरायल तथा उनीहरूका सहयोगीले कुनै पनि कारबाही गरे उचित जवाफ दिइने इरानी खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले चेतावनी दिएका छन्।
‘हामी शक्तिशाली इरानका शत्रुहरू विशेष गरी अमेरिका, इजरायल र यसका क्षेत्रीय तथा क्षेत्रबाहिरका सहयोगीहरूलाई कुनै पनि गलतफहमी वा गलत काम नगर्न चेतावनी दिन्छौँ। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध तस्निम समाचार एजेन्सीले जुलाई २ मा आफ्नो टेलिग्राम च्यानलमा सार्वजनिक गरेको एक भिडियोमा अब्दुल्लाहीले भनेका छन् ।
यसैबीच अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिकरूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी अचानक सार्वजनिक रूपमा देखिएका छन् ।
बिहीबार राति तेहरानको केन्द्र क्षेत्रमा सानो शोकसभा आयोजना गरिएको थियो ।
सोही शोकसभामा उनी सहभागी भएको तथा तेहरानस्थित खामेनीको पूर्वनिवास नजिक आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा उनको कास्केट छेउमा बसेको देखिएका हुन् ।

युद्ध सुरु हुनुभन्दा केही साताअघि फेब्रुअरी ८ पछि वाहिदी सार्वजनिक रूपमा नदेखिएकाले उनको उपस्थितिलाई विशेष महत्वका साथ हेरिएको छ ।
विश्लेषकहरूले पनि अमेरिकासँगको युद्धको सम्भावित स्थायी अन्त्यका लागि हुन सक्ने वार्तामा इरानको कडा अडान तय गर्न वाहिदी प्रभावशाली भूमिका रहेने आंकलन गरेका छन् ।