एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीचको द्वन्द्व र तनाव पुनः चर्किएको छ ।
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको सीमासँग जोडिएका ठेगानाहरूमा आफूले आक्रमण गरेको जानकारी दिएको हो ।
तालिबान प्रशासनका अनुसार आक्रमणमा पाकिस्तानको दक्षिण-पश्चिमी प्रान्त बलोचिस्तानमा कयौँ मानिसहरू घाइते भएका छन् ।
अर्कातर्फ, पाकिस्तानी सेनाले आफूले चारवटा साधारण ड्रोनहरू खसालेको दाबी गर्दै आगामी दिनमा हुने जुनसुकै प्रकारका उक्साहटपूर्ण कदमको उचित जवाफ दिइने चेतावनी दिएको छ।
विगतमा महिनौँसम्म शान्त रहेको सीमा क्षेत्रमा गत आइतबार पाकिस्तानले अफगानिस्तानभित्र गरेको हवाई आक्रमणपछि दुई देशबिचको सम्बन्ध फेरि बिग्रिएको हो ।
अफगानिस्तानको दाबीअनुसार आइतबार पाकिस्तानले गरेका ती आक्रमणहरूमा आवासीय घरहरूलाई निसाना बनाइएको थियो, जसमा ३६ जना आम नागरिकको मृत्यु हुनुका साथै १६० भन्दा बढी मानिस घाइते भएका थिए।
संयुक्त राष्ट्र सङ्घले भने उक्त हवाई आक्रमणमा २८ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ। तालिबानले पाकिस्तानको उक्त कदमलाई कायरतापूर्ण हर्कत र जघन्य अत्याचारको संज्ञा दिएको छ।