काठमाडौं । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा भएको छ। गएराति अर्जेन्टिना र बुधबार बिहान स्विट्जरल्यान्ड विजयी भएसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो।
नकआउट चरणका अन्तिम दुई खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै अन्तिम आठमा स्थान बनायो।
यससँगै विश्वकपको उपाधि होडमा अब फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड मात्र बाँकी छन्। प्रतियोगिता सुरु गरेका अन्य ४० टोली भने उपाधि यात्राबाट बाहिरिएका छन्।
फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। यो खेल जुलाई १० तारिख मा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ।
स्पेन र बेल्जियमः जुलाई ११, राति पौने २ बजे
नर्वे र इंग्ल्याण्डः जुलाई १२, बिहान पौने ३ बजे
अर्जेन्टिना र स्विट्जरल्याण्डः जुलाई १२, बिहान पौने ७ बजे
क्वाटरफाइनलमा यसपटक युरोपेली टोलीहरूको स्पष्ट वर्चस्व देखिएको छ। अन्तिम आठमध्ये ६ टोली युरोपबाट पुगेका छन्।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को मात्र क्वाटरफाइनलमा पुग्न सफल भएका छन्। एसियासहित अन्य कुनै पनि महादेशले अन्तिम आठमा प्रतिनिधित्व गर्न सकेनन्।
यस संस्करणमा सहआयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा पनि उपाधि होडबाट बाहिरिसकेका छन्। त्यस्तै, पाँच पटकको विश्व विजेता ब्राजिल, साथै जर्मनी र पोर्चुगल जस्ता परम्परागत फुटबल शक्तिहरू पनि अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दै प्रतियोगिताबाट बाहिरिएका छन्।