काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणमा साविक विजेता अर्जेन्टिनासँग ३–२ को रोमाञ्चक हार बेहोरेपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्री र आयोजकमाथि गम्भीर आरोप लगाएका छन् ।
खेल सकिएलगत्तै मैदानमै रेफ्रीसँग चर्काचर्की गरेका उनले पत्रकार सम्मेलनमा पनि आक्रोश पोख्दै खेल निष्पक्ष नभएको दाबी गरे ।
सुरुआती दुई गोलको अग्रता बनाएर पनि अन्ततः पराजित हुनुपरेपछि प्रशिक्षक हसनले अर्जेन्टिना र विशेषगरी कप्तान लियोनेल मेसीलाई प्रतियोगितामा टिकाइराख्न आफूहरूको टोलीमाथि अन्याय गरिएको आरोप लगाए।
'हामी विश्व च्याम्पियनभन्दा हरेक हिसाबले उत्कृष्ट थियौँ, तर नतिजा अर्कै बनाइयो। सायद उनीहरू मेसीलाई प्रतियोगिताबाट बाहिरिएको हेर्न चाहँदैनथे,'हसनले भने, 'मेसीलाई जोगाउन मैदानभित्र र बाहिरका शक्तिहरू सक्रिय भए। अर्जेन्टिनालाई जिताउन चौतर्फी दबाब सिर्जना गरिएको थियो।'
उनले रेफ्रीको छनोटदेखि खेल सञ्चालनसम्म प्रश्न उठाउँदै भिडियो असिस्टेन्ट रेफ्रीको भूमिकामाथि समेत असन्तुष्टि जनाए।
हसनका अनुसार कप्तान मोहम्मद सलाहलाई पेनाल्टी क्षेत्रभित्र लडाउँदा स्पष्ट पेनाल्टी दिइएन। साथै, इजिप्टले गरेको एउटा वैध गोललाई विनाकारण रद्द गरिएको र अर्जेन्टिनाका इन्जो फर्नान्डेजले निर्णायक गोल गर्नुअघि जर्सी तानेको स्पष्ट दृश्य हुँदाहुँदै पनि रेफ्रीले बेवास्ता गरेको उनको आरोप छ।
'खेलकुदमा न्याय हुनुपर्छ, तर यहाँ त झेल मात्र भयो,' उनले आक्रोश व्यक्त गरे। इजिप्टका खेलाडीहरूले पनि हारको प्रमुख कारण रेफ्रीका विवादास्पद निर्णयलाई मानेका छन्।
गोलकिपर मोस्तफा सोबियरले मेसीको पेनाल्टी बचाएर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम परिणाममा रेफ्रीका निर्णयहरूले टोलीको मनोबल कमजोर बनाएको प्रतिक्रिया दिए।
यद्यपि, मैदानमा तनावपूर्ण अवस्था सिर्जना भइरहेका बेला इजिप्टका कप्तान मोहम्मद सलाहले भने ड्रेसिङ रुममा साथी खेलाडीलाई शान्त रहन आग्रह गरेका थिए। उनले हारलाई ूफुटबलको भाग्यू भन्दै सबैलाई संयम अपनाउन अनुरोध गरेका थिए।
तर प्रशिक्षक हसनको आक्रोश भने सेलाएन। उनले पत्रकार सम्मेलनको अन्त्यमा भने, 'अब यो विश्वकपको एउटा पनि खेल हेर्दिनँ, जहाँ न्याय नै छैन।'