एजेन्सी । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा फ्रान्ससँग पाराग्वे पराजित भएपछि पाराग्वेकी सिनेटर सेलेस्टे अमरिल्लाले फ्रान्सेली स्टार किलियन एम्बाप्पेमाथि गरेको जातिवादी टिप्पणी गरेकी छन् ।
अमरिल्लाले सामाजिक सञ्जाल एक्समार्फत एम्बाप्पेको पारिवारिक पृष्ठभूमिलाई लक्षित गर्दै उनलाई ‘उपनिवेशवादी क्यामरुनी’ जस्ता अपमानजनक शब्द प्रयोग गरेकी हुन् ।
एम्बाप्पेका पिता क्यामरुन मूलका र आमा अल्जेरियाली मूलकी भए पनि उनी स्वयं फ्रान्समै जन्मिएका नागरिक हुन् । जातिवादी अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै एम्बाप्पेले सामाजिक सञ्जालमै सिनेटर अमरिल्लालाई कडा शब्दमा जवाफ दिएका छन् ।
उनले लेखेका छन्,'म्याडम सेलेस्टे अमरिल्ला, तपाईं एक घृणित महिला हुनुहुन्छ र आफ्नो पदका लागि अयोग्य हुनुहुन्छ। तपाईं पाराग्वेको प्रतिनिधित्व गर्नुहुँदैन, त्यो देश जसले प्रतियोगिताभरि जोश र सम्मान प्रदर्शन गरेको थियो।'
उनले थप लेखेका छन्, 'तपाईंको लापरवाही र निर्लज्ज जातिवादका कारण संसारले पाराग्वेका खेलाडीहरूको ऐतिहासिक प्रयासलाई बिर्सिएको छ। म यस्ता मानिसहरूलाई घृणा र जातिवाद फैलाउने छुट कहिल्यै दिनेछैन।'
घटनापछि फ्रान्सेली फुटबल महासंघले अमरिल्लाको अभिव्यक्तिलाई “पूर्ण रूपमा घृणित, अस्वीकार्य र आपराधिक” भन्दै सार्वजनिक अभियोजकको कार्यालयमा कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेको छ।