'आजै राति साढे १ बजे पार्टी पदाधिकारीको मत परिणामको घोषणा गरिने'
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरिएको छ।
प्रतिनिधि छनोटमा विवाद, आन्तरिक तयारीमा कमी लगायतका कारणले महाधिवेशन थप लम्बिएको हो । अहिलेसम्म पहिलो चरणअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मात्रै मतदान सकिएको छ । तर अझै पदाधिकारीको मतदान बाँकी रहेको छ ।
संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि फाराम वितरण बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्मलाई तोकिएको छ । त्यस्तै दाबी विरोध ८ बजेलाई राखिएको छ।
जसमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको लागि मतदान हुनेछ । रास्वपाका प्रवक्त्ता मनिष झाका अनुसार मतदान गर्न एक जनालाई ४ देखि ५ मिनेटमा लाग्ने छ ।
त्यस्तै पदाधिकारीको मत गणना आजै राति सवा १२ बजेबाट गर्ने तयारी गरिएको छ । भने आजै राति साढे १ बजे पार्टी पदाधिकारीको मत परिणामको घोषणा गरिनेछ ।
तर, अझैसम्म पहिलो चरणको मतगणना नै नभएका कारण तोकिएको समयमा मतदान हुनेमा शंका उत्पन्न भएको छ ।
पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने तय थियो।
सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् भने वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहलाई बनाउने तयारी छ।
यसैगरी प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भइसकेको छ ।
पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३७९ जनाले उमेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार, २९५९ जनाले पहिलो चरणको मतदानमा सहभागीता जनाएका छन् ।
विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति लामिछानेले मनोनीत गर्नेछन् । रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ ।