कााठमाडौं । विगत पाँच दिनदेखि चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानमा २ हजार ९५९ मत मात्रै खसेको छ ।
४ हजार ३११ प्रतिनिधि सहभागी भएको यो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि १३ सय ५२ प्रतिनिधिहरू मतदान नै गरेनन् ।
भरतपुरमा जारी महाधिवेशन अति नै भद्रगोल तरिकाले भइरहेको छ । निर्वाचन हुनु अघिसम्म पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको थिएन।
महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना उम्मेदवार छन् । विद्युतीय मतपेटिकामा भोट खसेकाले चाँडै मतपरिणाम आउने अपेक्षा छ ।
त्यसपछि पदाधिकारी पदका लागि दोस्रो चरणको मतदान गर्ने भनिएको छ । तर, सभापति लामिछाने भने सहमति गराएर चुनाव नगराउने पक्षमा जुटेका छन् ।
यता केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरुले निर्वाचनमा षड्यन्त्र भएको आरोप लगाएका छन् ।
उनीहरूले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन् । रास्वपामा नेतृत्व चयनका लागि बुधबार मध्यरातदेखि मतदान भएको थियो ।
उम्मेदवारको क्रम संख्या,क्लस्टर,वर्णानुक्रम तलमाथि पारिएको र नाम समेत पूरा नलेखिएको भन्दै उनीहरुले आफू निकटहरूलाई जिताउन विभिन्न उपाय अपनाइएको आरोप लगाएका छन् ।
पार्टीमा अन्य दलको झैँ गुट–उपगुट निषेध हुने भनिएको थियो । तर वरिष्ठ नेता बालेन शाह पक्षले चिट नै बाँडेको उनीहरुको दावी छ
बालेन पक्षले मध्यराति सूची बाँडेको कुरा बाहिरिएको थियो । बिहीबार बिहान अर्को पक्षका उम्मेदवारको क्रम संख्या र वर्णानुक्रम बिगारेर भोटिङ मेशिनमा अपलोड गरेको आरोप पनि लगाएको थियो । ज्वाला संग्रौला र आशिका तामाङसहितको आक्रोश चुलिएको छ।
महाधिवेशन भद्रगोल हुँदा रास्वपाको संगठनात्मक तयारीमाथि पार्टी भित्रैबाट आलोचना भइरहेको हो ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य पदका उम्मेदवार गणेश कार्कीले प्रारम्भिक सूचीविपरीत मतदानका लागि नामहरू राखिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले प्रश्न गर्दै भने–‘खुलातर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा मभन्दा तल दर्ता भएकाहरूको नाम मेरोभन्दा माथि कसरी भयो ? मेरोभन्दा पहिले दर्ता गरेकाहरू मभन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम, स्थान तोकियो ?’
उनले सामाजिक सञ्जाल फेसबुकममार्फत महाधिवेशनमा देखिएको भद्रगोलप्रति आफ्ना प्रश्नहरू रहेको पनि बताएका छन् ।
अर्का सांसद यज्ञमणि न्यौपानेले पनि उम्मेदवारको सूचीमा बबण्डर गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । आफूभन्दा पछि फारम भरेका उम्मेदवारहरूको अगाडि नाम राखिएको र नाम राख्दा ‘अल्फाबेटिकल अर्डर’ पनि नमिलाएको उनको भनाइ छ ।
उनले भनेका छन्–‘मेरो नाम खुला सूचीको ४२ नम्बरमा रहेछ । मभन्दा पछि फर्म भरेका साथीहरूको अगाडि नै नाम राखेको देखियो । अल्फाबेटिकल अर्डरसमेत मिलाएको रहेनछ ।’
त्यस्तै सांसद आशिका तामाङले केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेको नम्बर र भोटिङ मेसिनमा राखिएको नम्बर पनि फरक–परेको भन्दै आक्रोश पोखेकी छन् । उनले फेसबुकमा लेखेकी छन्–‘मनोनयन दर्ता गर्ने बेला ३७ नम्बरमा भएको मेरो नाम भोटिङ मेसिनमा केको आधारमा १०६ नम्बरमा पुग्यो ?’
इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गरेपछि अनलाइनखबरसँग कुरा गर्दै सांसद तामाङले आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो परेको बताइन् । नचिनेका तथा नजानेकालाई पनि मतदान गर्नै पर्ने बाध्यता रहेको उनको भनाइ छ ।
मेसिनमा भोट संकेत नगरी अर्को स्टेपमा जानै नपाइने सिस्टम रहेको बताउँदै सांसद तामाङले भनिन्–‘आफूले चाहेर पनि आफ्नो नेतालाई चुन्न गाह्रो भयो । मन लागोस् कि नलागोस् ६४ जनालाई तपाईंले भोट हाल्नै पर्ने । त्यो नहाली नेक्स्टमा जानै नपाइने ।’ उनले आफ्नै नाम खोज्न पाँच मिनेट जति समय लागेको पनि बताइन् ।
सांसद धनञ्जय रेग्मीले महाधिवेशन लथालिंग पारेर पदाधिकारीहरूले पार्टीको अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गरेको आरोप लगाए । उनले भने–‘जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन् । तिनले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गरेका छन् ।’
नेतृत्वको विरुद्धमा बोल्न नहुने विषय बोलिरहेको भन्दै रेग्मीले अब आफू निर्वाचनमा पराजित हुने आशंका पनि व्यक्त गरे । उनले भने–‘यत्ति भनेपछि मलाई थाहा छ, धेरैले मत दिन्नन् । म हारिनै हाल्छु । यति बोल्नै नहुने थियो तर, बोलिहालियो ।’
सांसद रेग्मीले भरतपुरमा बेथिति देखिएको भन्दै यसरी देश चलाउन नसकिने पनि नेतृत्वलाई स्मरण गराए ।
केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका नेता उत्तमप्रसाद पौडेलले उम्मेदवारको नामावली प्रकाशन गर्दा नेपाली लिपी र अंग्रेजी अल्फाबेट नमिलाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
अर्का सांसद राजीव खत्रीले पनि पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् । आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनी मतदान व्यवस्थापनको आलोचनामा उत्रिएका छन् ।
खत्रीले फेसबुकमा लेखेका छन्–‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।’
त्यस्तै यदुकुमार गिरीले लेखेका छन्–‘हामी नयाँहरूले आफ्नै प्रतिद्वन्द्वीलाई भोट हालेर चुनाउ लडियो ।
केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भाग लिएकी नेतृ ज्वाला संग्रौलाले पनि आफूमाथि षडयन्त्र रचिएको बताएकी छन् । मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएको भन्दै उनी आक्रोशित बनेकी हुन् ।
ज्वालाको वास्तविक नाम टिका संग्रौला हो । तर, उनी पार्टीभित्र र बाहिर ज्वाला नामले नै बढी परिचित छिन् । यो उनको उपनाम हो । उनले उम्मेदवारीको फारम भर्दा टिका संग्रौला (ज्वाला) लेखेको बताएकी छन् । तर, मतपत्रमा भने ज्वाला हटाएर टिका संग्रौला मात्रै राखिएपछि आफूमाथि षडयन्त्र भएको उनको दावी छ ।
उनले भनिन्–‘मलाई सबैले ज्वाला भनेर चिन्नुहुन्छ । यो नाम मतपत्रमा नदेख्दा प्रतिनिधिहरुले मलाई भोटै नहालि आउनुभएछ । उहाँहरुले मलाई आएर भन्नुभयो । पछि म आफैं भोट हाल्न जाँदा टिका संग्रौला मात्रै लेखिएको रहेछ । यो नामले मलाई धेरैले चिन्नुहुन्न । ममाथि सरासर षडयन्त्र भयो ।’
ज्वालाले यो विषयमा पार्टीको निर्वाचन आयोगमा मौखिक गुनासो राखेकी थिइन् । तर, आयोगका व्यक्तिहरुले मतपत्रमा ‘उपनाम’ प्रयोग गर्न नमिल्ने जवाफ दिए । यद्यपि, अरु थुप्रै उम्मेदवारहरुको उपनाम मतपत्रमा प्रयोग भएको छ । रञ्जु न्यौपानेको नाम रञ्जु दर्शना, डिल्लीस्वर कार्कीको नाम रोहन कार्की लेखिएको छ, जुन नामबाट उनीहरु परिचित छन् ।