काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।
बिहिवार रास्वपा महाधिवेशनमा पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ‘ज्वाला’ हटाइएकोमा आपत्ति जनाउँदै उनले आयोगमा उजुरी दिएकी हुन् ।
'पार्टीको वेबसाइटमा मेरो नाम केन्द्रीय सदस्य टिका संग्रौला ‘ज्वाला’ रहेको र यसै अनुसार महाधिवेशन प्रतिनिधि हुँदै उम्मेदवार बन्दा समेत यही नाम रहेकोमा भोटिङ मेसिनमा ‘टिका संग्रौला’ मात्रै राखिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा के भएर नाम हटेको हो, यथासिघ्र अनुसन्धान गरियोस्,' नेतृत्व चयनका लागि गठित निर्वाचन आयोगका प्रमुखलाई सम्बोधन गर्दै उनले उजुरीमा लेखेकी छन् ।
यस प्रक्रियाबाट आफूमाथि हुन गएको अन्याय र क्षतिको जिम्मा कसले लिने हो भन्ने पनि निर्वाचन आयोगले जवाफ दिनुपर्ने संग्रौलाको माग छ ।
आफ्नो नाम ‘टिका संग्रौला 'ज्वाला' रहेको र यही नामले महाधिवेशन प्रतिनिधि बन्नुका साथै मनोनयन दर्ता गराएको उनले भनाई छ ।
साथै उनले नाममा समेत राजनीति गरिएको आरोप लगाएकी छन्।
'पार्टीको केन्द्रीय समितिमा यही नाम, महाधिवेशन प्रतिनिधिमा यही नाम, उम्मेदवार हुँदा यही नाम तर जब भोटिङ मेसिन खुल्छ, नाम गायब हुन्छ ब्राकेट भित्रको। फेरि अरू साथीहरूको चाहिँ सबैको छ, मेरो मात्र मेसिनले खाएछ। भोट दिने साथीहरूले ज्वाला खोज्दा खोज्दै भोटिङ्गको समय समाप्त । नाममा समेत राजनीती गरिएकोले निर्वाचन आयोगमा उजुरी दिएकी छु' सामाजिक सञ्जालमा लेखेकी छन् ।
यसअघि आफ्नो नाममै छेडखानी गरिएकोमा ज्वालाले रास्वपाको निर्वाचन आयोगमा उजुरी दिने जानकारी पनि सामाजिक सञ्जालबाटै दिएकी थिइन् ।