काठमाडौं । व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालसहितका प्रतिवादीविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा थुनछेक बहस सम्पन्न भएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा प्रतिवादीहरूको बयान सकिएको हो । अदालतका अनुसार यस मुद्दामा आजै थुनछेक आदेश आउने सम्भावना छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। सोही मुद्दामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरलाई पनि प्रतिवादी बनाइएको छ। सन्दीप चाचन अग्रवाल ब्रोकर नम्बर ५५ का अध्यक्ष हुन्।
अभियोगपत्रअनुसार हिमालयन रि–इन्स्योरेन्सलगायत विभिन्न कम्पनीको रकम दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन तथा त्यसलाई वैध देखाउने प्रयास गरिएको आरोप उनीहरूमाथि लगाइएको छ।
यस प्रकरणमा अनुसन्धानका क्रममा दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरिएको थियो ।