Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

रामहरि श्रेष्ठ हत्या प्रकरण : दोषी ठहरिएका बटालाद्धारा सर्वोच्चमा आत्मसमर्पण

रामहरि श्रेष्ठ हत्या प्रकरण : दोषी ठहरिएका बटालाद्धारा सर्वोच्चमा आत्मसमर्पण

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्।

सर्वोच्च अदालतका अनुसार बटाला बुधबार स्वयं अदालतमा उपस्थित भएका हुन् । आत्मसमर्पणपछि उनलाई सजाय कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको छ।

प्रचलित कानुनी व्यवस्थाअनुसार फैसला भएको ६० दिनभित्र स्वेच्छाले आत्मसमर्पण गर्ने कैदीले तोकिएको सजायमा २० प्रतिशत छुट पाउने व्यवस्था छ।

गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि दिइएको सफाइको फैसला पुनरावलोकन गर्दै बटालालाई दोषी ठहर गरेको थियो। न्यायाधीशहरू नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले उनलाई जन्मकैद योग्य कसुरमा दोषी ठहर गर्दै मुलुकी ऐनअनुसार १० वर्ष कैद सजाय हुने फैसला गरेको हो।

यसअघि २०७७ साउनमा तत्कालीन सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बटालालाई सफाइ दिएको थियो। त्यसपछि महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले पुनरावलोकनको निवेदन दिएको थियो।

उक्त निवेदनमाथि तत्कालीन न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा। मनोजकुमार शर्माको इजलासले पुनरावलोकन गर्न अनुमति दिएको थियो।

सर्वोच्चले यस मुद्दाका अर्का प्रतिवादी सवारी चालक अर्जुन कार्कीलाई भने सफाइ दिएको छ। यसअघि जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले उनलाई २० रुपैयाँ जरिवानाको सजाय सुनाएका थिए।

व्यवसायी रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा पुर्‍याइएको अभियोग छ। त्यहाँ कुटपिटबाट उनको मृत्यु भएपछि शव वैशाख २८ गते नारायणी नदीमा फालिएको अवस्थामा फेला परेको थियो।

अनुसन्धानअनुसार माओवादी शान्ति प्रक्रियामा आएपछि कोटेश्वरस्थित श्रेष्ठको घरमा खोलिएको सम्पर्क कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र एउटा पेस्तोल चोरी भएको घटनाको अनुसन्धान गर्ने बहानामा गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेको र त्यहीँ हत्या गरेको आरोप छ।

बटालाले यसअघि यसै मुद्दामा ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन्। अब सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार उनले १० वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ।

यही प्रकरणमा तत्कालीन माओवादी डिभिजन कमान्डर कालीबहादुर खाम पुर्पक्षका लागि कारागारमा रहेका छन् भने अन्य केही प्रतिवादी अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077