काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
बुधबार भएको बयान तथा थुनछेक बहसपछि विशेष अदालतले उनीहरूलाई कारागार चलान गर्ने आदेश दिएको हो । अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद कोइराला र विदुर कोइरालाको इजलासले प्रमाण र मिसिलको अध्ययनपछि थुनामा राखेर मुद्दाको थप प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले गत बिहीबार भट्ट र अग्रवालसहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो।
अभियोगपत्रअनुसार दीपक भट्टविरुद्ध करिब २६ अर्ब रुपैयाँ र सुलभ अग्रवालविरुद्ध करिब २५ अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। उनीहरूले बीमा, धितोपत्र तथा बैंकिङ क्षेत्रमार्फत अवैध रूपमा आर्जन गरिएको सम्पत्तिलाई शुद्धीकरण गरेको आरोप छ।
अतीन दिन सम्मको सुनुवाइ सकिएपछि अदालतले प्राप्त प्रमाणका आधारमा तत्काललाई दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउनुमा पहिलो आधारमा जटिल वित्तीय सञ्जाल र स्रोत लुकाएको देखिएको औँल्याएको छ ।
अदालतको आदेशमा व्यवसायी भट्ट र अग्रवालले वास्तविक धनी लुकाउन र अवैध आयलाई वैध देखाउन जटिल वित्तीय कारोबार गरेको उल्लेख छ ।
जगदम्बा स्टील्सबाट अल्पकालीन कर्जा लिएर दिपक भट्टको व्यक्तिगत खातामा जग्गा बैनाको नाममा रकम पठाइएको र पछि सोही रकम 'इन्फिनिटी होल्डिंग्स' मार्फत हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर खरिदमा प्रयोग गरिएको देखिएको अदालतको ठहर छ। यसलाई अदालतले सम्पत्ति शुद्धीकरणको लेयरिङ प्रक्रिया भनेको छ ।





