काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २८ लाख ९३ हजार रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना व्यक्ति पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार छुट्टाछुट्टै अन्तर्राष्ट्रिय उडानमार्फत विदेश जान लागेका एक चिनियाँ नागरिक र एक नेपाली नागरिकलाई चेकजाँचका क्रममा विदेशी मुद्रा लुकाएको अवस्थामा नियन्त्रणमा लिइएको हो।
चीनको कुनमिङतर्फ जान लागेका ५१ वर्षीय चिनियाँ नागरिक मो युलोङबाट ७ हजार ५ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब ११ लाख ३४ हजार ३ सय बराबर पर्छ।
त्यस्तै, कतारको दोहा जान लागेका सुनसरीको इटहरी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय बेचन मियाको साथबाट ४२ हजार ४ सय कतारी रियाल फेला परेको छ, जसको नेपाली मूल्य करिब १७ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार दुवै जनालाई विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा शरीर खानतलासी गर्दा शंकास्पद रूपमा लुकाइएका अवस्थामा विदेशी मुद्रा फेला परेको हो।
बरामद गरिएको कुल रकम करिब २८ लाख ९३ हजार ५२ रुपैयाँ बराबर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।