काठमाडौं । चितवनबाट १६ वर्षीय बालकलाई अपहरण गरी काठमाडौं ल्याइएको घटनामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरणमा परेका बालकलाई भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सकुशल उद्धार गरेको हो ।
प्रहरीका अनुसार सोमबार साँझ नारायणगढबाट ५–६ जनाको समूहले रिसब गुप्तालाई अपहरण गरी भारतीय नम्बर प्लेटको गाडीमा जबरजस्ती काठमाडौं ल्याएका थिए ।
अपहरणकारीले बालकलाई काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रको होटल फेमिलीमा राखेर परिवारसँग फिरौती माग्दै २२ लाख रुपैयाँको डिमाण्ड गरेको खुलेको छ ।
सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपहरणकारीलाई सोही होटलबाट नियन्त्रणमा लिएको हो। डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरी बालकको उद्धार गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये पाँचै जना भारतीय नागरिक रहेको खुलेको छ। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरत थापा क्षेत्रीले जानकारी दिएका छन्।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान सार्वजनिक गर्दै उनीहरू बिहारको बेतिया क्षेत्रका १८ वर्ष उमेर समूहका युवक रहेको जनाएको छ।
पक्राउ पर्नेमा सुजित कुमार, गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिद रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।