काठमाडौं । संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद–बिक्री मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रसुवाको उत्तरगया गाउँपालिका–९ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्दै आएका ३८ वर्षीय टेकबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ।
सीआईबीका अनुसार तामाङ संरक्षित वन्यजन्तुको छाला अवैध रूपमा ओसारपसार तथा खरिद–बिक्री सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल ९सुन्धारा०मा थुनामा रहेका थिए।
तर, उनी २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। त्यसयता सीआईबीले उनको खोजी तीव्र बनाएको थियो।
खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित जरङ्खुबाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई बाँकी सजाय भुक्तानका लागि पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा बुझाइएको सीआईबीले जनाएको छ।