काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने आधार राजनीतिक प्रतिस्पर्धी र एक व्यापारीको बयान रहेको खुलेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई विशेष अदालतमा उपस्थित गराएपछि थुनछेक बहसका क्रममा सरकारी पक्षले उनीविरुद्धको अभियोजनको आधार खुलाएको हो ।
विशेष सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले रुपन्देही–२ का कांग्रेस उम्मेदवार चुन्नुप्रसाद शर्मा पौडेल र व्यवसायी कमलकिशोर मालपानीको बयानका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी अदालतलाई दिएका थिए।
यही विषयलाई लिएर पौडेल पक्षका कानुन व्यवसायीले अदालतमा कडा आपत्ति जनाएका छन्। वरिष्ठ अधिवक्ता रमेश बडालले राजनीतिक प्रतिस्पर्धीको बयान मात्रका आधारमा पक्राउ गर्नु कानुनी रूपमा उचित नहुने तर्क गर्दै त्यसलाई विश्वसनीय प्रमाण मान्न नसकिने बताएका छन्।
बचाउ पक्षले श्रीराम टोबाकोको सेयर खरिद–बिक्री प्रकरणमा विष्णु पौडेलको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने कुनै प्रमाण नरहेको दाबी गरेको छ। सेयर कारोबारमा पौडेलले निर्देशन दिएको वा कुनै भूमिका खेलेको प्रमाण अनुसन्धान निकायसँग नरहेको उनीहरूको जिकिर छ।
बहसका क्रममा व्यवसायी कमलकिशोर मालपानीले २०८२ फागुन २१ को निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र ९बालेन० शाहलाई करिब ८ करोड रुपैयाँ मूल्यको गाडी दिएको विषय पनि उठाइएको थियो।
बचाउ पक्षले मालपानीसँग सम्बन्धित उक्त विषयमा अनुसन्धान नभएको तर पौडेलमाथि भने हचुवाका भरमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको भन्दै प्रश्न उठाएको छ।
अधिवक्ताहरूले पर्याप्त प्रमाणबिना यस्तो प्रकृतिको मुद्दा दर्ता हुँदा सार्वजनिक पद धारण गर्नसमेत कानुनी असर पर्ने भएकाले अनुसन्धान निष्पक्ष र प्रमाणमा आधारित हुनुपर्ने बताएका छन्।
सरकारी पक्षले भने व्यवसायी कमलकिशोर मालपानी र चुन्नुप्रसाद शर्मा पौडेलको बयानका आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
उता बचाउ पक्षले दुवै बयानकर्ता व्यापारिक साझेदारसमेत रहेकाले उनीहरूको बयानलाई मात्र निर्णायक आधार बनाउन नहुने जिकिर गरेको छ।
वरिष्ठ अधिवक्ता रमेश बडाल, केदार कोइराला, टीकाबहादुर कुवँर र सुजाता केसीसहितका कानुन व्यवसायीहरूले पौडेलविरुद्ध प्रमाण नभेटिएको जिकिर गरे।
वरिष्ठ अधिवक्ता बडालले सरकारले राजनीतिक प्रतिशोधलाई तीव्र बनाउने नियतका साथ पक्राउ गरेकाले उक्त स्वेच्छाचारी कदमलाई अनुमोदन गर्नु गतल हुने बताएका छन् । उनीहरूले मालपानीको गाडी चढ्ने बालेन शाहमाथि पनि अनुसन्धान गर्नुपर्ने जिकिर गरे ।