काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको गिरफ्तारीलाई ‘अपहरणको शैलीमा गरिएको गैरकानुनी पक्राउ’ भन्दै कडा विरोध जनाएको छ ।
पार्टीले यस घटनालाई राजनीतिक प्रतिशोध र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहारको रूपमा व्याख्या गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा पौडेलको पक्राउलाई “अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा” भन्दै कडा आपत्ति जनाएका हुन् ।
पौडेल पार्टीको सांगठनिक कार्यक्रममा सहभागी भएर सुर्खेतमा रहेका बेला उनलाई सरकारले गैरकानुनी ढंगले नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । उनले यो कदमलाई राज्य संयन्त्रको दुरुपयोग भएको आरोपसमेत लगाएका छन्।
एमालेका अनुसार पौडेल सुर्खेतको पूर्वनिर्धारित कार्यक्रम सकेर काठमाडौँ फर्कने तयारीमा रहेका बेला उनलाई पक्राउ गरिएको हो। पार्टीले सामान्य कानुनी प्रक्रिया अपनाउन सकिने विकल्प हुँदाहुँदै पनि ‘नियतवश’ अपहरण शैलीमा पक्राउ गरिएको दाबी गरेको छ।
वक्तव्यमा भनिएको छ, 'विधिको शासन र सामान्य कानुनी प्रक्रियालाई बेवास्ता गर्दै, सोधपुछ वा उपस्थितिमै प्रक्रिया अघि बढाउन सकिने अवस्थालाई लत्याएर बदनियतपूर्वक गिरफ्तारी गरिएको हो।'
एमालेले वर्तमान सरकारलाई लक्षित गर्दै यसलाई 'अलोकतान्त्रिक, सर्वसत्तावादी र अधिनायकवादतर्फ उन्मुख कदम' को संज्ञा दिएको छ। पार्टीले विपक्षी नेताहरूमाथि लक्षित यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी पनि दिएको छ।
एमालेले यस घटनालाई राजनीतिक रूपमा निर्देशित कदम भएको दाबी गर्दै यसको डटेर प्रतिवाद गर्ने चेतावनी दिएको छ।
पौडेललाई सोमबार सुर्खेतबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको बताइएको छ।
