काठमाडौं । काठमाडौं महानगरपालिका–२६, ठमेल फायरचोक क्षेत्रमा सर्वसाधारणलाई हैरानी दिने सातजना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा पाँच जना युगान्डा र दुई जना भियतनामका नागरिक रहेका छन्।
प्रहरीले जनाएअनुसार असार ५ गते उनीहरूले बाटोमा हिँडिरहेका स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा रोक्दै अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाई गरी दुर्व्यवहार गरेका थिए । सो क्रममा उनीहरूले प्रहरीको सम्झाइबुझाइलाई समेत अवज्ञा गर्दै ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अपशब्द प्रयोग गरी गालीगलौज तथा धक्कामुक्का गरेको आरोप छ।
त्यसपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।