पोखरा । पोखरा महानगरपालिका–१५, मेरिगोल्डस्थित एक घरमा झ्यालढोका नाप्ने बहानामा प्रवेश गरी सुनका गरगहना र नगद चोरी गर्ने आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत जेठ २४ गते दिउँसो करिब २ः१८ बजे मनिषा थापाको घरमा उनकी सानी छोरी मात्रै रहेको अवस्थामा एक व्यक्ति ‘झ्यालढोका बनाउनका लागि नाप्न आएको’ भन्दै घरभित्र प्रवेश गरेका थिए।
घरभित्र पुगेपछि उनले कोठामा रहेको दराज तोडफोड गरी सुनका विभिन्न गरगहना तथा नगद १३ हजार रुपैयाँ चोरी गरेर फरार भएको प्रहरी जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले प्राविधिक अनुसन्धानका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान गरेको थियो।
अनुसन्धानबाट सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, शिवनगर टोल बस्ने ३५ वर्षीय भुवनबहादुर साह शंकर चोरीमा संलग्न रहेको खुलेपछि प्रहरीले असार ४ गते प्रहरी प्रभाग काँडाघारीको सहयोगमा उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनको डेराबाट चोरीसँग सम्बन्धित विभिन्न सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका क्रममा साहले चोरी गरिएका सुनका बाला ६ लाख ५० हजार रुपैयाँमा बिक्री गरेको स्वीकार गरेपछि ती गहना खरिद गर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, मूलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनीहरूबाट सुनजस्तो देखिने पहेँलो धातुका तिलहरी, चन्द्रमा, झुम्का, औँठी, मुन्द्रा, चाँदीजस्तो देखिने बाला, सिक्का र सिक्री, नगद ८१ हजार ५०० रुपैयाँ तथा चोरीका बेला प्रयोग गरिएको ज्याकेट र पाइन्ट बरामद गरेको जनाएको छ।
दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।