Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आकर्षक तलबको प्रलोभनमा ५६ लाखभन्दा बढी ठगी, सातजना पक्राउ

आकर्षक तलबको प्रलोभनमा ५६ लाखभन्दा बढी ठगी, सातजना पक्राउ

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबसहित विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ५६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पीडितहरूको उजुरीका आधारमा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूले ग्रिस, क्रोएसिया, सर्बिया, बेलायत, यूएई र अजरबैजान पठाइदिने भन्दै रकम उठाएर सम्पर्कविहीन भएको आरोप छ।

पक्राउ पर्नेमा अर्घाखाँची घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २८ वर्षीय सन्तोष अधिकारी, दाङ घर भई काठमाडौं–३ बस्ने २९ वर्षीय हेमन्त केसी, सुनसरी घर भई बूढानीलकण्ठ–११ बस्ने ४२ वर्षीय सुकदेव राई, सुनसरीकै बूढानीलकण्ठ–३ बस्ने ३४ वर्षीय मनिष पोदार, रूपन्देही घर भई काठमाडौं–१६ बस्ने ४७ वर्षीय रामरतन मिश्र, कास्की घर भई टोखा बस्ने ३९ वर्षीय अमृत अधिकारी तथा रौतहट घर भई काठमाडौं–२६ बस्ने ३५ वर्षीय मिर इसलामाना रहेका छन्।

प्रहरीका अनुसार सन्तोष अधिकारीले ग्रिस पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ, हेमन्त केसीले क्रोएसिया पठाइदिने भन्दै १३ लाख ३० हजार रुपैयाँ, सुकदेव राईले सर्बिया पठाइदिने भन्दै दुई जनाबाट १३ लाख रुपैयाँ असुलेका थिए।

यस्तै, मनिष पोदारले बेलायत पठाइदिने भन्दै २ लाख रुपैयाँ, रामरतन मिश्रले यूएई पठाइदिने भन्दै २ लाख ३० हजार रुपैयाँ, अमृत अधिकारीले अजरबैजान पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ तथा मिर इसलामानाले बेलायत पठाइदिने भन्दै १२ लाख ६३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

प्रहरीले सन्तोष र हेमन्तलाई बुधबार काठमाडौं महानगरपालिका–१२ बाट, सुकदेवलाई बिहीबार बूढानीलकण्ठ–११ बाट तथा मनिष, रामरतन, अमृत र मिरलाई शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सातै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077