चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति प्रतिबद्ध रहेको स्पष्ट गर्दै रास्वपा कुनै पनि अवस्थामा लोकतन्त्रबाट विमुख नहुने बताएका छन्।
प्रथम राष्ट्रिय महाधिवेशनअघि शनिबार आयोजित पार्टी बैठकलाई सम्बोधन गर्दै लामिछानेले मुलुकमा प्राप्त राजनीतिक उपलब्धि र लोकतान्त्रिक व्यवस्थाको संरक्षण गर्दै रास्वपा अघि बढ्ने स्पष्ट पारे।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गर्ने सबैको जगमा हामी उभिएका छौँ। यसमा हामीलाई गर्व छ र लोकतन्त्रबाट हामी कहिल्यै विमुख हुने छैनौँ,’ उनले भने।
लामिछानेले राजनीतिक दलको बलियो आधार आन्तरिक लोकतन्त्र भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउँदा गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिए। उनका अनुसार राजनीतिक दलभित्र हुने दुर्घटनाले समाज र राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना गर्न सक्छ।
‘घर वा समाजमा हुने दुर्घटनाभन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाको मूल्य धेरै ठूलो हुन्छ। त्यसैले हामी सबै सचेत भएर अबका कदम चाल्नुपर्छ,’ उनले भने।
सभापति लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै जिम्मेवारीमा रहे पनि जिम्मेवार नागरिकको रूपमा प्रस्तुत हुन निर्देशन दिँदै व्यक्तिगत स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन आग्रह गरे।