एजेन्सी । इरान र संयुक्त राज्य अमेरिकाबीच हालै भएको शान्ति तथा युद्धविरामसम्बन्धी समझदारीपत्र (एमओयू) को कार्यान्वयनमा देखिएको विवादपछि दुई देशबीचको तनाव पुनः तीव्र बनेको छ ।
इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले एमओयूको पहिलो शर्त नै कार्यान्वयन हुन नसक्नुले अमेरिकी पक्षमा इरानी जनताको विश्वास जित्ने इच्छाशक्तिको अभाव देखिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले चेतावनी दिँदै लेखेका छन्, 'यदि अवस्था यस्तै रहिरह्यो भने अमेरिकाले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ। यसको सुरुवात एमओयूका वाचाहरू उल्लंघन गरिएको विषयमा हाम्रो बुद्धिमानीपूर्ण र उपयुक्त जवाफबाट हुनेछ।'
अजीजीले इरान दृढ संकल्पका साथ आफ्नो अडानमा रहेको स्पष्ट पार्दै कडा प्रतिक्रिया दिन बाध्य हुन सक्ने संकेत पनि गरेका छन्।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै इरान आफैं वार्तामा आएको दाबी गरेका छन्।
उनले 'हामी बाध्य भएर भेटेका होइनौं, इरान आफैं आएको हो। उनीहरूको खेल समाप्त भइसकेको छ,' भन्दै ६० दिनको समयसीमा पूरा हुन दिने चेतावनी दिएका छन्। ट्रम्पले इरानलाई कुनै आर्थिक सहयोग नदिइने पनि स्पष्ट पारेका छन्।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड भ्रमण स्थगित भएसँगै अमेरिका–इरानबीच हुने भनिएको प्रत्यक्ष वार्ताको नयाँ चरण पनि पछि सारिएको छ। ह्वाइट हाउसले वार्ताका लागि तय गरिएको कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
हालै मात्र युद्धविरामलाई मजबुत बनाउने उद्देश्यले तयार पारिएको १४ बुँदे समझदारीपत्रमा दुवै पक्षबीच हस्ताक्षर भए पनि पछिल्ला घटनाक्रमले त्यसको कार्यान्वयन र भविष्यबारे पुनः अनिश्चितता बढाएको छ।