एजेन्सी । अमेरिकाका विभिन्न राज्यमा रहेका ग्यास स्टेशनहरूको इन्धन भण्डारण प्रणालीमा साइबर आक्रमण भएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरूले आक्रमणमा इरान समर्थित ह्याकर समूह संलग्न हुन सक्ने आशंका गरेका छन् ।
अधिकारीहरूका अनुसार ह्याकरहरूले ग्यास स्टेशनहरूमा प्रयोग हुने ‘अटोमेटिक ट्याङ्क गेज’ प्रणालीमा अनधिकृत पहुँच बनाएका थिए । यो प्रणाली इन्धन ट्याङ्कमा कति पेट्रोल वा डिजेल बाँकी छ भन्ने निगरानी गर्न प्रयोग गरिन्छ । धेरै प्रणाली इन्टरनेटमा जडान भए पनि पर्याप्त पासवर्ड सुरक्षा नभएकाले ह्याकरहरूले सजिलै पहुँच पाएको बताइएको छ ।
स्रोतहरूका अनुसार ह्याकरहरूले वास्तविक इन्धन स्तर परिवर्तन नगरी केवल डिस्प्लेमा देखिने तथ्याङ्कसँग छेडछाड गरेका थिए । हालसम्म कुनै भौतिक क्षति, इन्धन चुहावट वा मानवीय हानी भएको प्रमाण फेला परेको छैन । तर, अमेरिकी साइबर सुरक्षा विशेषज्ञहरूले यस्तो पहुँच भविष्यमा ठूलो खतरा बन्न सक्ने चेतावनी दिएका छन् ।
अनुसन्धानसँग परिचित अधिकारीहरूले इरानले यसअघि पनि ग्यास ट्याङ्क प्रणालीलाई लक्ष्य बनाएको इतिहास रहेकाले तेहरानमाथि शंका केन्द्रित भएको बताएका छन् । यद्यपि स्पष्ट डिजिटल प्रमाण नपुगेकाले अमेरिकी सरकारले औपचारिक रूपमा जिम्मेवार पक्ष घोषणा गरिसकेको छैन ।
यदि इरानको संलग्नता पुष्टि भयो भने, यो अमेरिकाको महत्वपूर्ण पूर्वाधारमाथि गरिएको अर्को गम्भीर साइबर चुनौतीका रूपमा हेरिनेछ ।
अमेरिका–इजरायल तनाव चर्किरहेका बेला इरान प्रत्यक्ष सैन्य आक्रमणभन्दा साइबर माध्यममार्फत दबाब बढाउने रणनीतिमा देखिएको विश्लेषण गरिएको छ ।