एजेन्सी । भारत र संयुक्त राज्य अमेरिकाले महत्वपूर्ण खनिज तथा दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन र प्रशोधन सुरक्षित गर्न ऐतिहासिक द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले क्वाड विदेश मन्त्रीहरूको बैठक तथा द्विपक्षीय छलफलपछि सम्झौताको घोषणा गर्दै यसलाई विश्वव्यापी रणनीतिक महत्वको कदमका रूपमा व्याख्या गरेका हुन्।
जयशंकरका अनुसार सम्झौताले महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको खानी उत्खनन, प्रशोधन, प्रवर्द्धन तथा सम्बन्धित लगानीलाई प्राथमिकता दिनेछ। उनले यसले सरल, सुरक्षित र विविधीकृत आपूर्ति श्रृङ्खला निर्माण गर्न सहयोग पुग्ने तथा सहभागी मुलुकहरूलाई वित्तीय तथा प्राविधिक सहकार्यमा समेत लाभ मिल्ने बताए।
उनले विश्व अर्थतन्त्र र प्रविधिको भविष्यका लागि यस्ता स्रोतहरू सुरक्षित गर्नु अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै कार्यान्वयनमा केही चुनौती भए पनि अवसरहरू अझ धेरै रहेको धारणा राखे।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि भारत अमेरिकाको महत्वपूर्ण रणनीतिक साझेदार भएको उल्लेख गर्दै सम्झौतालाई दुवै देशको दीर्घकालीन हितसँग जोडिएको ठोस उदाहरण बताएका छन्।
रुबियोका अनुसार उच्च प्रविधि, रक्षा प्रणाली, ऊर्जा प्रविधि तथा विद्युतीय सवारीसाधन उत्पादनका लागि आवश्यक महत्वपूर्ण खनिजमा भरपर्दो पहुँच सुनिश्चित गर्न दुवै मुलुकबीच रणनीतिक सहकार्य विस्तार गरिएको हो।