एजेन्सी । अमेरिका र इरानबीच बढ्दो तनावका बीच पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद सुरु भएको छ ।
अमेरिकी सञ्चारमाध्यमले इरानी सैन्य विमानहरूलाई अमेरिकी हवाई हमलाबाट जोगाउन पाकिस्तानले आफ्नो सैन्य एयरबेस प्रयोग गर्न दिएको दाबी गरेपछि दक्षिण एशियाली कूटनीतिमा नयाँ तरंग पैदा भएको हो ।
अमेरिकी समाचार च्यानल सीबीएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा युद्धविराम घोषणा गरेपछि इरानले आफ्ना केही सैन्य विमान पाकिस्तानस्थित नूर खान एयरबेसमा सारेको थियो ।
रिपोर्टमा इरानले पठाएका विमानहरूमध्ये एउटा जासुसी तथा गुप्तचर प्रयोजनमा प्रयोग हुने विशेष विमान पनि रहेको उल्लेख गरिएको छ ।
अमेरिकी अधिकारीहरूको दाबीअनुसार ती विमानहरूलाई सम्भावित अमेरिकी हमलाबाट सुरक्षित राख्न पाकिस्तानको भूभाग प्रयोग गरिएको थियो ।
रिपोर्टमा इरानले केही सैन्य विमान अफगानिस्तानतर्फ पनि पठाएको उल्लेख छ ।