Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुधारगृहमा राखिएका व्यक्तिले गरे प्रहरीमाथि चक्कु प्रहार, सुधारगृहका कर्मचारी पनि घाइते

सुधारगृहमा राखिएका व्यक्तिले गरे प्रहरीमाथि चक्कु प्रहार, सुधारगृहका कर्मचारी पनि घाइते

आइतवार , आषाढ ७, २०८३

विराटनगर । विराटनगर महानगरपालिका–१ मा प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। घटनामा एक प्रहरी सहायक निरीक्षक, एक प्रहरी जवान र एक सुधारगृहका कर्मचारी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रामेछाप घर भई हाल विराटनगर–१ अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्दै आएका रुबिन कार्कीलाई धारिलो हतियार (चक्कु) सहित नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार कार्कीलाई उनका आफन्तले काठमाडौंस्थित नेपाल सुधारगृह पठाउने तयारी गरिरहेका थिए। सोही क्रममा उनी कोठाभित्र पसेर आत्महत्याको प्रयास गरिरहेको सूचना पाएपछि सीआरभी भृकुटीचोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

आफन्तहरूको सहयोगमा कार्कीलाई सम्झाउने प्रयास भइरहेका बेला उनले अचानक चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट सीआरभी भृकुटीचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा नेपाल सुधारगृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। तीनै जनाको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट थप प्रहरी टोली परिचालन गरी कार्कीलाई घटनास्थलबाटै चक्कुसहित पक्राउ गरिएको थियो।

प्रहरीले पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077