सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले करिब २ करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरका ७ हजार ७ सय थान विद्युतीय चुरोट (भेप)बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ निवासी रामकुमार श्रेष्ठ रहेका छन्। उनलाई सोमबार बाह्रबिसे नगरपालिका–३ खाग्दलबाट अवैध रूपमा भित्र्याइएको भेप र प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडीसहित नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तातोपानी नाकाबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरोमा विभिन्न ब्रान्डका भेप लुकाइछिपाइ ल्याइँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले गाडी रोकी खानतलासी गर्दा ठूलो परिमाणमा भेप फेला पारेको थियो। बरामद भेपको अनुमानित बजार मूल्य २ करोड ५९ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सामान, बोलेरो गाडी र पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाएको जनाएको छ।