Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया - राज्यका निर्णय प्रतिशोधप्रेरित हुनुहुँदैन

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया - राज्यका निर्णय प्रतिशोधप्रेरित हुनुहुँदैन

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राज्यका कुनै पनि निर्णय पूर्वाग्रह वा प्रतिशोधबाट प्रेरित हुन नहुने बताएका छन् ।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

ज्ञवालीले अनुसन्धान र न्याय निरूपणको स्थापित विधिअनुसार पहिले निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने, त्यसपछि अभियोजन र अदालतको निर्णयका आधारमा प्रक्रिया अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन्। अत्यावश्यक अवस्थाबाहेक पक्राउ गर्ने अभ्यास उचित नहुने उनको भनाइ छ।

‘पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजनपछि अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित अभ्यास हुनुपर्छ,’ उनले लेखेका छन्, ‘तर पहिले गिरफ्तार गर्ने र त्यसपछि मात्रै अनुसन्धान सुरु गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ। राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोधप्रेरित हुनुहुँदैन।’

ज्ञवालीले नेकपा एमालेले कानुनको शासन र न्यायिक प्रक्रियालाई सम्मान गर्ने नीति अवलम्बन गर्दै आएको पनि स्पष्ट पारेका छन्। संवैधानिक तथा कानुनी अधिकारप्राप्त निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुनसम्मत ढंगले सामना गर्ने र न्यायालयको अन्तिम फैसलालाई सहज रूपमा स्वीकार गर्ने एमालेको स्थापित मान्यता रहेको उनको भनाइ छ।

यसअघि सोमबार सुर्खेतबाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077