काठमाडौं । संघीय सरकारले निजामती कर्मचारीहरूका लागि कार्यालय समयमा सरकारले तोकेको पोशाक र परिचयपत्र (आईडी कार्ड) अनिवार्य रूपमा लगाउन निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार परिपत्र जारी गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा देशभरका सबै स्थानीय तहमा कार्यरत कर्मचारीलाई तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको हो ।
राष्ट्रिय सतर्कता केन्द्रको ताकेतापछि जारी गरिएको उक्त परिपत्रमा कार्यालय समयमा नेपाल सरकारले निर्धारण गरेको किसिम र रङको पोशाक तथा सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार कर्मचारीको अनुशासन, सार्वजनिक सेवाप्रतिको विश्वास अभिवृद्धि तथा सेवाग्राहीलाई कर्मचारीको सहज पहिचान गराउने उद्देश्यले यो व्यवस्था कडाइका साथ लागू गरिएको हो।
मन्त्रालयले सबै सरकारी निकायलाई उक्त व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिँदै नियमको पालना भए–नभएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले नियमित अनुगमन गर्ने जनाएको छ। अनुगमनको विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिने पनि परिपत्रमा उल्लेख छ।