काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी ट्रेड युनियन संरचनामाथि कडा निर्णय गर्दै सबै युनियन कार्यालय बन्द गर्न र युनियनमा आवद्ध कर्मचारीलाई दरबन्दीअनुसारको जिम्मेवारीमा फर्काउन परिपत्र जारी गरेको छ ।
मंगलबार सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूलाई पठाइएको परिपत्रमा प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाका शाखा अधिकृत विवेक विडारीको हस्ताक्षर रहेको छ ।
परिपत्रअनुसार हालै जारी भएको निजामती सेवा ऐन, २०४९ संशोधन अध्यादेश २०८३सँगै ऐनको दफा ५३ खारेज भएको उल्लेख गरिएको छ। सोही दफामा ट्रेड युनियनसम्बन्धी व्यवस्था रहेको थियो।
मन्त्रालयले अबदेखि ट्रेड युनियनका कार्यालय पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। साथै, युनियन प्रयोजनका लागि प्रयोग गरिएका कार्यालय भवन, कार्यकक्ष, सवारीसाधन तथा अन्य सरकारी सम्पत्ति तत्काल फिर्ता गर्न पनि भनिएको छ।
परिपत्रमा ट्रेड युनियन नेतृत्वमा रहेका कर्मचारीलाई पनि उनीहरूको दरबन्दीअनुसारको नियमित कार्य जिम्मेवारीमा खटाउन स्पष्ट निर्देशन दिइएको छ।
सचिवस्तरीय निर्णयअनुसार जारी गरिएको पत्रमा भनिएको छ, 'ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आवद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसार कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनु हुन अनुरोध छ।'