बारा । तीन दिनदेखि जारी सरकार–मिटरब्याज पीडितबीचको वार्ता निर्णायक चरणमा पुगेको छ।
वार्ता टोलीका सदस्य तथा संयुक्त जनअधिकार नेपालका अध्यक्ष निर्ग नवीनका अनुसार टोली औपचारिक सम्झौतामा हस्ताक्षर गर्न सिमरास्थित विमानस्थलबाट काठमाडौंका लागि रवाना भएको हो।
उनले हालसम्म चार चरणको वार्ता सम्पन्न भइसकेको र सरकार मिटरब्याज प्रथाको उन्मूलन, विशेष ऐन निर्माण तथा विशेष अदालत गठन गर्न सकारात्मक भएपछि वार्ता निर्णायक मोडमा पुगेको बताए।
मिटरब्याजीविरुद्ध किसान–मजदुर आन्दोलन केन्द्रीय समितिले सरकारसँगको वार्ताका लागि तीनवटा बटम लाइन अघि सारेको जनाएको छ।
समितिले अध्यक्ष अवधेश कुसवाहको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरिसकेको भए पनि सरकारका तर्फबाट भने औपचारिक वार्ता समिति अझै गठन भएको छैन।