धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा निरन्तर पहिरो खसिरहेपछि देशको प्रमुख यातायात मार्ग पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ सूचना जारी गर्दै पहिरोका कारण राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको जनाएको हो।
पहिरो खस्ने क्रम नरोकिएकाले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनका अनुसार सडक क्षेत्रमा अझै उच्च जोखिम कायम रहेकाले यात्रु तथा सवारी चालकको सुरक्षालाई प्राथमिकता दिँदै राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो।
काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरिएको छ।
यसैबीच, पहिरोको अवस्था निरन्तर अनुगमन भइरहेको र सडक सुरक्षित भएपछि मात्रै यातायात सञ्चालन गरिने प्रशासनले जनाएको छ।