काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको थुना कानुनसम्मत नभएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई तत्काल थुनामुक्त गर्न आदेश जारी गरेपछि उनी जलेश्वर कारागारबाट रिहा भएका हुन्।
यसअघि असई थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
फैसला भएको भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरेको थियो।
तर सर्वोच्च अदालतले गत १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनी प्रक्रिया अनुरूप नभएको निष्कर्ष निकालेको छ।
अदालतले उक्त पुर्जीका आधारमा गरिएको थुना वैधानिक नरहेको ठहर गर्दै त्यसलाई बदर गरी तत्काल रिहा गर्न आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै कोइरी कारागारबाट मुक्त भएका छन्।