काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालय पौडेलसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्न लागेको हो ।
यस मुद्दामा विष्णु पौडेलसहित १६ जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीमध्ये ८ जना व्यक्ति र ८ वटा कम्पनी रहेका छन्। अनुसन्धानबाट जोडिएका सम्पत्ति जफतको प्रयोजनका लागि कम्पनीहरूलाई पनि प्रतिवादी बनाइएको जनाइएको छ।
विशेष सरकारी वकिल कार्यालयले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्ने तयारी गरेको छ।
त्यस्तै, शुभी अग्रवालविरुद्ध १३ करोड ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ। अन्य प्रतिवादीको हकमा पनि छुट्टाछुट्टै बिगो निर्धारण गरिएको जनाइएको छ।
सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते पौडेल सुर्खेतबाट पक्राउ परेका थिए ।
सम्पत्ति शुद्धीकरण विभागले पूर्व अर्थमन्त्री समेत रहेका पौडेलविरुद्ध पदको दुरुपयोग गरेर हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पाचौँ पटक म्याद थप अनुसन्धान गरेको थियो ।
सोही अनुसन्धान प्रतिवेदनका आधारमा विशेष अदालतमा पूरक अभियोग दर्ता गर्ने अन्तिम तयारी भइरहेको स्रोतले जनाएको छ।
यसअघि भट्टसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भइसकेकाले अब उनीहरुविरुद्ध पूरक अभियोगपत्र दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयले जनाएको छ।
स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागबाट प्राप्त अनुसन्धान प्रतिवेदनको अन्तिम रुजु भइरहेको छ र बिहीबार साँझसम्म विशेष अदालतमा अभियोगपत्र दर्ता गरिनेछ।