काठमाडौं । प्रहरी हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ ।
भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास र गोल्छा पत्नी सिमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी परेको छ ।
भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् । त्यस्तै गोल्छामाथि शेयर खरिद चलखेल कसुरमा नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष रहेका गोल्छा र व्यवसायी दीपक भट्टबीच धितोपत्र ऐन विपरीत कारोबार भएको देखाएको छ। प्रतिवेदनमा उनीहरूले सेयर कारोबारमा जालसाजी गरेको आशंका गरिएको छ।
शेयर कारोबारमा गम्भिर अनियमितता गरेको प्रकरणमा पक्राउ परेका भट्टको ‘विचौलिया साम्राज्य’ राजनीतिक र आर्थिक क्षेत्र मात्र नभई प्रहरीसम्म पनि फैलिएको छ ।
भट्ट यस्ता व्यक्ति हुन्, जो प्रहरीकै प्रवन्ध शाखाका प्रहरी अधिकारीहरुसँग मिलेमतो गरी ठेक्कापट्ट हत्याउने गर्दथे । यतिमात्रै होइन, आईजीपी नियुक्तिमा समेत उनको चलखेल हुँदै आएको यस अघि नै सार्वजनिक भइसकेको छ । पूर्वआईजीपीहरु उपेन्द्रकान्त अर्याल, रमेशचन्द ठकुरी, दीपक थापा, धिरजप्रताप सिंह, पूर्वएआईजीहरु प्रतापसिंह थापा, रविन्द्रसिंह धानुक, हरी पाललगायतका अधिकारीहरुले भट्टलाई धेरै सहयोग गरेको समाचार अनलाइ नेपालले यसअघि नै प्रकाशित गरिसकेको छ ।
सर्वेन्द्र खनाल आईजीपी छँदा प्रवन्धमा बसेका इन्सपेक्टर केशव गौतमले भट्टलाई ठूलो गुन लगाएका थिए । त्यतिखेर भट्टले खरिद गरेको वाटरक्यानन (पानीको फोहोरा फाल्ने उपकरण) प्रवन्धमा दाखिला नहुँदै प्रहरीले भुक्तानी गरेपछि अख्तियारले समेत पत्र काटेको थियो । तर, त्यतिबेलै कुनै कारबाही प्रक्रिया भने अघि बढ्न सकेन ।
भट्टले सेयर बजार प्रभावित पार्ने, मूल्यमा उतारचढाव ल्याउने र जालसाँझीपूर्ण कार्य गरेको धितोपत्र बोर्डले गरेको सुपरिवेक्षणले निष्कर्ष निकालेको थियो ।
धितोपत्र कारोबार सम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदन अनुसार भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीमार्फत रकमको वास्तविक लेनदेन नगरी भट्टले करोडौंको सेयर कारोबार गरेको खुलेको थियो ।
भट्टले पब्लिक कम्पनी हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ निकालेर नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए । उक्त सेयर खरिदमा नै भट्टले घोटाला गरेको खुलेको छ ।
त्यस्तै, भट्टले बिमा क्षेत्रको तीन अर्ब ८१ करोड ४६ लाख चार हजार रुपैयाँ अनाधिकृत रुपमा आफ्ना कम्पनीमा लगेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।