Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा, नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप

वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा, नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप

सोमवार , जेठ २५, २०८३

काठमाडौं । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेलसहित सात जनालाई विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले दायर गरेको आरोप पत्रमा उनीहरू दुवैलाई नागरिकता तथा जन्म दर्ता सम्बन्धी कागजातमा भएको भनिएको अनियमित प्रक्रियामा प्रमुख भूमिका निर्वाह गरेको भन्दै मुख्य जिम्मेवार पक्षका रूपमा उल्लेख गरिएको छ।

अनुसन्धानका क्रममा अर्की महिलाको छोरीलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गरी गलत विवरणका आधारमा जन्म दर्ता प्रमाणपत्र तयार गरिएको र सोही कागजातका आधारमा नागरिकता समेत जारी गरिएको दाबी आयोगले गरेको छ। यस प्रक्रियामा वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मका कागजातमा झुटा विवरण समावेश गरी निर्णय प्रक्रिया प्रभावित गरिएको निष्कर्ष आयोगको छ।

आयोगका अनुसार नगर प्रमुख सिंहले सूचकका रूपमा भूमिका निर्वाह गर्दै गलत विवरण पेस गरी जन्म दर्ता प्रक्रिया अघि बढाउन सहयोग गरेको देखिएको छ भने तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी गर्ने क्रममा कानुनी प्रक्रिया विपरीत कागजात प्रमाणीकरण र निर्णय प्रक्रियामा संलग्नता देखिएको आरोप लगाइएको छ।

यसै प्रकरणमा वीरगञ्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, रिता भट्टराई तथा गृह मन्त्रालयका छानबिन समितिका तत्कालीन पदाधिकारीहरूमाथि पनि विभिन्न स्तरको संलग्नता रहेको आरोप पत्रमा उल्लेख छ।

आयोगले छानबिन समितिले वास्तविक तथ्य उजागर नगरी गलत प्रतिवेदन तयार पारेको र आवश्यक कानुनी अनुसन्धानलाई प्रभावित पार्ने प्रयास भएको दाबीसमेत गरेको छ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विभिन्न दफाअन्तर्गत कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार मेयर राजेशमान सिंहले सिन्धुपाल्चोककी रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी भनी झुटा विवरण पेस गरेका थिए । सोही जन्मदर्ताको आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट रुविनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

सोही प्रकरणमा यही जेठ १९ गते मेयर सिंह पर्साको ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट पक्राउ परेका थिए ।

पक्राउ परे लगत्तै पर्सा सिंहविरुद्ध लिखत कीर्ते तथा झुट्टा विवरण पेश गरेको आरोपमा दुई छुट्टाछुट्टै कसुर अन्तर्गत मुद्दा दर्ता भएका थिए ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएको मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077