काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रज्ञा-प्रतिष्ठानमा जागिर खाएको आरोपमा कार्यालय सहयोगी रामकुमार बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार बोहराले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा कार्यालय सहयोगी पदमा नियुक्ति लिई तलब, भत्ता तथा अन्य सेवा-सुविधा समेत लिएका थिए।
अख्तियारका अनुसार अनुसन्धानका क्रममा बोहराले नेपाल प्रज्ञा–प्रतिष्ठानमा २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी राजपत्रअनङ्कित तृतीय श्रेणीअन्तर्गत कार्यालय सहयोगी पदमा स्थायी नियुक्ति प्राप्त गर्न तथा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अंकपत्र र स्थानान्तरण प्रमाणपत्र लगायतका शैक्षिक प्रमाणपत्र तथा सम्बन्धित विवरण नक्कली रूपमा पेश गरेको पुष्टि भएको छ।
आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनबमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।