काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भट्टेडाँडा, ललितपुरस्थित श्री सातकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गरेको छ ।
विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विद्यार्थीहरुका लागि पोशाक प्रदान गरेको जनाएको छ ।
हाल १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ ३ गते एक विशेष कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दाहाल र विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेलाई संयुक्तरुपमा पोशाकहरु हस्तान्तरण गरेका हुन् ।
अरनिको एल्मुनाई एसोसियसन, खुमलटारले सहजकर्ताको भूमिका खेलेको उक्त कार्यक्रममा शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।