झापा । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि झापाका चिया उद्योगीले पनि आजदेखि अनिश्चितकालका लागि चिया उद्योग बन्द गरेका छन्।
चिया निर्यातमा देखिएको समस्याका उद्योग गम्भीर सङ्कटमा परेका भन्दै नेपाल चिया उत्पादक संघ, झापाले पत्रकार सम्मेलन गरी आजदेखि चिया उद्योग र बगान बन्द गर्ने भन्दै बुधबार नै जानकारी गराएको थियो ।
चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएपछि र सरकारले कूटनीतिक पहलमा बेवास्ता गरेपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।
सोही अनुसार १ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आजदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका हुन् ।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ ९एसओपी० का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चाल्न बाध्य भएको बताएका छन्।
यसबाट करिब ६० हजार श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्।
नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको छ ।
जसमध्ये वार्षिक एक अर्ब राजस्व सरकारलाई बुझाउँदै आएको संघले जनाएको छ।
त्यसैले भारतको विकल्पमा बंगलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने भएकाले सरकारसँग कूटनीतिक पहल गरिदिन पनि उद्योगीले आग्रह गरिरहेका छन्।
यसैबीच बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक माध्यमबाट पहल गरिरहेको बताएकी थिइन् ।
मन्त्री कुमारीले चिया, अलैँची लगायत स्वदेशी कृषि उपजको उचित भण्डारण र प्रभावकारी बजारीकरणका लागि सरकारले विशेष योजना अघि बढाएको समेत बताएकी थिइन् ।